सम्झनामा एउटा ‘रोल मोडल’

अहिले देश ठूलो द्विविधामा छ । वर्तमानका राजनीतिक खेलाडीहरूले या त लोकतान्त्रिक राजनीतिको गाम्भीर्यलाई बुझेका छैनन् या लोकतान्त्रिक राजनीतिको हैसियत नै अलिकति खस्किएको छ । नेपालको बौद्धिक समुदायले यो कुरा राम्रोसँग बुझेको देखिएको छैन कि, पारम्परिक नजरले राजनीतिलाई हेर्ने हो भने यहाँ पाइलापाइलामा हरेक विषयको प्रगति अवरुद्ध हुन्छ ।

निर्दलीय पञ्चायत व्यवस्थामा राजा र उनका पञ्च कार्यकर्ता राजनीतिको आधुनिकीकरणसँग डराएका थिए । दुर्भाग्यवश, त्यसपछि स्थापित संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्था र अझ त्यसपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र पनि राजनीतिको आधुनिकीकरणसँग उत्तिकै डराएको देखिन्छ ।

 

महेन्द्रनारायण निधि अलग हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘हामी सात सालदेखि अहिलेसम्म निरन्तर लोकतन्त्रको खोजीमा छौं । तर, हाम्रा लागि अहिलेसम्म व्यवहारमा लोकतन्त्र आएको छैन । लोकतन्त्रले मानिसको जीवनलाई कसरी सुखी र सम्पन्न बनाउँछ, यसको व्याख्या त प्रशस्त भएको छ; सिद्धान्ततः नेपालका राजनीतिक नेताहरूले लोकतन्त्रको परिभाषाहरू नबुझेका पनि होइनन्; तर व्यवहारमा त्यसको सदुपयोग हुन सकेको छैन । सभ्यताको समयचक्रअनुसार हाम्रो समाजमा परिवर्तन आएन । नेपाली समाजको स्वरूपमा केही आलंकारिक परिवर्तन आए पनि लोकतन्त्रले मानिसको जीवनचक्रलाई आक्रामक ढंगले प्रभावित गर्न सकेको छैन । भारतमा महात्मा गान्धीले मानिसको स्वतन्त्रता र आत्मचेतनालाई अत्यधिक महत्त्व दिनुभयो । महात्मा गान्धीको अभियान नै थियो— नागरिक समाजको जागरण । नेपालमा सात सालको क्रान्तिपछि नागरिक समाजको निर्माण सुरु भएको थियो । राजा महेन्द्रले निर्दलीय पञ्चायत व्यवस्थाका नाममा तानाशाही शासन सुरु गरेर त्यसलाई छिन्नभिन्न गराइदिए । नागरिकलाई संगठित हुन दिएनन् । राजाको तानाशाही शासनको अन्त्य नभएसम्म देशमा आर्थिक विकास सम्भव हुँदैन ।’

त्यो बेला यो पंक्तिकार निधिजीसँगै जलेश्वर जेलमा थुनिएको थियो । निधिजी र म, हामी दुवैका विरुद्ध अञ्चलाधीशको कार्यालयले राजकाज मुद्दा चलाएको थियो । निधिजी साँचो अर्थमा लेखक र विचारक हुनुहुन्थ्यो । उहाँमा पत्रकारिताप्रति अनुराग थियो । जनकपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रपत्रिकामा नेपाली भाषामा र भारतको पटनाबाट प्रकाशित हुने साप्ताहिक पत्रपत्रिकामा हिन्दी भाषामा नियमितजसो आफ्ना विचार प्रवाहित गरिरहनुहुन्थ्यो । प्रजातन्त्र दिवसको उपलक्ष्यमा उहाँको एउटा लेख पटनाको ‘हिमालेशिया’ साप्ताहिकको २०२६ फागुन १९ को अंकमा प्रकाशित भएको थियो । लेखमा निधिजीले राजतन्त्रको विरोध गरेको अत्तो थाप्दै जनकपुर अञ्चलाधीशले उहाँका विरुद्ध आननफानन राजकाज मुद्दा चलाएर तीन वर्ष कैद र तीन हजार रुपैयाँ जरिवाना गरेका थिए । जनकपुरका अञ्चलाधीश थिए— दामोदरशमशेर जबरा । उनी निर्दलीय पञ्चायतका ‘हार्ड लाइनर’ र दरबारका विश्वासपात्र मानिन्थे । मलाई पनि निधिजीको लेखको प्रचारप्रसार गरेको र राजसंस्थाप्रति घृणा फैलाएको अभियोगमा राजकाज मुद्दा चलाएर जेलमा राखिएको थियो ।

‘हिमालेशिया’ मा प्रकाशित निधिजीको लेख विचारोत्तेजक थियो । उहाँले नेपाली राजनीतिको मूल समस्याको चर्चा गर्दै आर्थिक समृद्धि, सामाजिक सन्तुलन र नैतिक सुधारको आवश्यकतामा जोड दिनुभएको थियो । उहाँले लेख्नुभएको थियो, ‘देश सबैको साझा हो । आजको पिछडापन र अभाव मेटी हाम्रो देश, हाम्रो समाज र हाम्रो सरकारले विश्वको विकसित देश, समाज र सरकारको दाँजोमा पुग्नु छ । आजको युग विज्ञान र योजनाको युग हुनाले हाम्रो दृष्टि र क्रियाकलाप योजनाबद्ध र वैज्ञानिक हुनुपर्छ । आवश्यकता र औकातलाई विचार गरी योजनाबद्ध कार्यहरूद्वारा मात्र ध्येयप्राप्ति सम्भव छ । इच्छा र दिखावा मात्रैले सफलता सम्भव छैन । विदेशी सहायता र ऋणको सदुपयोग राष्ट्रिय साधनस्रोत बढाउनमा हुनुपर्छ । देश र समाजको कल्याणमा नै व्यक्ति र सरकारको पनि कल्याण छ भन्ने कुरा विशेष गरी सत्तामा रहेका आधिकारिक व्यक्तिहरूले बुझ्नुपर्छ । देश र समाजको योजनाबद्ध विकासका लागि दक्ष र स्थायी प्रशासन अत्यावश्यक छ । प्रजातन्त्रोत्तर कालको उन्नाइस वर्षले देश र समाजलाई दक्ष र स्थायी प्रशासन दिन सकेको छैन । दक्ष र स्थायी प्रशासन दिन नसकेको जिम्मेवारी अधिकारसम्पन्न शासक र नेतृ वर्गमै बढ्ता छ । अधिकार आफूमा राखेर अथवा दुरुपयोग गरेर जिम्मेवारी अथवा दोषारोपण अरूमा गर्नु अनुचित र अपराध हो । अनुचित र अपराध जसबाट भए पनि इतिहास र इतिहासनिर्माता (जनता) ले क्षमा गर्दैन । इतिहास निर्माता सर्वसाधारण (जनता) ले दक्ष एवं स्थायी प्रजातान्त्रिक प्रशासनका लागि कठोर कदम चाल्दछ । आज प्रजातन्त्रका दुश्मनले खेलिरहन पाएझैं भोलि पनि खेलिरहन पाउने छैनन् ।

‘दलगत राजनीति र संसद् नेपाल र नेपालीका लागि अफाप भयो भन्नु एकपक्षीय र स्वार्थी कुरा हो । किनभने परिणाम र प्रभाव अझै मौजुद छ र यसका पक्ष र विपक्षमा जनमत लिइएको छैन । यदि केही क्षणका लागि अफाप नै भएको छ मानौं भने पनि निरंकुश राजतन्त्र र राजतन्त्रात्मक पञ्चायत त उहिले नै अफाप भएको छ । निरंकुश राजतन्त्रात्मक पञ्चायत कमसेकम नेपालका लागि नयाँ वस्तु छैन । आज त नयाँ वस्तु र मान्यताको खोजी छ । मनुष्य मात्रलाई स्वतन्त्र सम्पन्न र विकासोन्मुख गराउने वस्तु र मान्यता विश्वको कुनै पनि व्यक्ति, समाज र देशबाट आउँछ भने स्तुत्य र ग्रहणीय छ । व्यक्तिगत र समष्टिवादबीचको संघर्ष सृष्टिको आदिकालदेखि नै रहेको प्रमाण इतिहास नै छ । आज पनि बीसौं शताब्दीको युगमा विश्वमानवले जनताका लागि जनताद्वारा जनताको सरकार चाहेको छ । जनताको स्वरूप र कार्य बालिग जनताको निर्णायक मतले गर्नेछ, जुन कि कुनै पनि पाशविक शक्तिभन्दा सक्षम, सबल र स्थायी हुन्छ ।’

म विद्यार्थी जीवनदेखि नै भारतका समाजवादी नेता डा. राममनोहर लोहियाका विचार र चिन्तनबाट प्रभावित भएको थाहा पाएपछि निधिजी निकै खुसी हुनुभएको थियो । निधिजी स्वयंलाई पनि डा. लोहियाले व्यक्तिगत रूपमा राजनीतिमा सक्रिय हुन उत्प्रेरित गरेका थिए । जलेश्वर जेलमा निधिजीले मलाई सात सालको क्रान्तिको पृष्ठभूमि, मधेशको राजनीति र देशको विकासमा राजनीतिक दलको भूमिका र महत्त्वका बारे नियमित रूपमा केही न केही बताइरहनुहुन्थ्यो । उहाँमा लोकतन्त्रप्रति अदम्य उत्साह थियो । जोस र जाँगरको त कुरै नगरौं ।

निधिजी भन्ने गर्नुहुन्थ्यो, ‘संसारमा एउटै मात्र मानिस हुन्थ्यो भने कुनै पनि व्यवस्था, नियम र नियमनको आवश्यकता रहने थिएन । तर, परिस्थिति भिन्न छ । यहाँ जनसमूह बाक्लो छ । प्रत्येक मानिसले आफ्नै लागि बढी सेवा, बढी सुविधा, शान्ति र स्वतन्त्रता चाहेको छ । मानवीय स्वार्थको सन्तुलन मिलाएर पारस्परिक सद्भाव र सहयोग कायम गर्न नियम र नियन्त्रणको खाँचो हुन्छ । मानव जाति स्वभावैले उद्योगी तथा स्वार्थप्रिय प्राणी हो । उसले आफ्नो स्वार्थको प्राप्तिका लागि आफ्नै प्रयत्नद्वारा प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्छ । मानवले ज्ञान र विज्ञानको साधना गर्न थालेपछि प्रकृतिलाई आफ्नो काबुमा लिन सक्षम हुँदै गयो । त्यस बेला मानिसको एक मात्र लक्ष्य आफ्ना सुख, शान्ति र सुविधाका लागि प्रकृतिउपर विजय प्राप्त गर्नु थियो । त्यो लक्ष्यमा स्थिर रहन सकेको भए मानिसको पतन हुने थिएन होला । आफ्नो स्वार्थका लागि मानिसले मानिसको शोषण गर्न थाल्यो । ‘जसको लाठी उसको भैंसी’ को नीतिमा आधारित एकतन्त्रीय शासनको दबदबाको कारण यही हो ।

निधिजी सत्पुरुष हुनुहुन्थ्यो । उहाँ मधेशमा जन्मिनुभएको र मधेशमै हुर्किनुभएको थियो । तर, उहाँमा कतै असमानता थिएन । निधिजीको खुबी के थियो भने उहाँले मधेश–पहाडको राजनीति कहिल्यै गर्नुभएन । उहाँले नेपालको राजनीति गर्नुभयो । लोकतान्त्रिक आचरणका निधिजीका लागि नेपाली कांग्रेसको विकल्प थिएन पनि । सरोजप्रसाद कोइराला, रुद्रप्रसाद गिरि, रामेश्वरप्रसाद सिंह, रामनारायण मिश्र, बोधप्रसाद उपाध्यायलगायतका नेताहरूसँग मित्रता र प्रतिस्पर्धा गर्दै अगाडि बढेका निधिजी राजनीतिक इमानका प्रतिमान हुनुहुन्थ्यो ।

निधिजीका बारेमा मेरा रचनाधर्मी मित्र प्राध्यापक राजेन्द्र विमल भन्नुहुन्छ, ‘उहाँ नव्य गान्धीवादी हुनुहुन्थ्यो । लोकतन्त्र र जनताका अधिकारको रक्षाका लागि प्राणको आहुति दिन पनि तयार । मधेशको यो भेगमा जन्मिएका निधि सत्यवादी हुनुहुन्थ्यो । उहाँ हाम्रो पुस्ताको रोल मोडल हुनुहुन्छ ।’

(कान्तिपुरमा प्रकाशित : फाल्गुन १२, २०७९)

लोकतान्त्रिक गणतन्त्रको भद्दा मजाक

संघीय राजधानीका रूपमा रहेको काठमाडौं सहरमा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले रविबारे आलाप सुनाएर गजबको रमिता देखाए । उनले निजी क्षेत्रद्वारा स्थापित सञ्चार संस्थाहरूको उछित्तो काढे ।

धेरै पत्रकारको नामै लिएर दुत्कारे । उनको भनाइअनुसार नेपालमा जेजति नकाम भएका छन्, ती सबैलाई कि त सञ्चारमाध्यमले छोपेका छन् कि सञ्चारमाध्यमबाट भएका छन् । रवि आफैं पनि सञ्चारमाध्यमका उत्पादन हुन् । उनलाई सञ्चारमाध्यमको प्रभावको ज्ञान पक्कै छ । उनले जति आक्रोश ओकले पनि उनका कुरालाई नेपाली समाजले हाँसोमा उडाइदियो । कार्यक्रमको अन्त्यमा रविको पूरै टोली हिस्स पर्‍यो ।

नेपालको राजनीतिमा अद्भुत घटना त धेरै देखियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले देखाएको रमिता आफैंमा अनौठो थियो । नेपाली जनताले सोचेका थिए, पुराना जमानाका नेताहरूको स्वभाव उमेरका कारणले पनि अलि अडबांगे देखिएको होला । तर, त्यसो होइन रहेछ । नेपाली राजनीतिकै एउटा अभिन्न अंगका रूपमा रहेको रहेछ अडबांगेपन । नयाँ जमानाका नयाँ नेताहरू त पुरानाभन्दा झन् जब्बर अडबांगे हुँदा रहेछन् । पृथ्वीको पूर्वी गोलार्द्धमा जन्मिएर पश्चिमी गोलार्द्धमा हुर्किए पनि नेपाली मूलको हुनेबित्तिकै देशभक्त भइहाल्ने, उसको नागरिकताको वैधानिक छानबिन हुन नपर्ने, चुनाव जित्नेबित्तिकै सात खून माफ पाइहाल्ने र आफूले सबैको विवेकमा प्रश्न उठाए पनि आफ्नो विवेकमा अरूले प्रश्न उठाउन नपाउने । नयाँ जमानाका राजनीतिज्ञहरूको विचारमा सत्तामा जानु नै ठूलो राजनीतिक सफलता हो भन्ने परेको रहेछ । अहिलेको बिब्ल्याँटो परिस्थितिमा योभन्दा बढी के चाहियो र ?

लोकतान्त्रिक गणतन्त्र नेपालका नयाँ–पुराना सबै राजनीतिज्ञ जनतालाई जुनसुकै बेला जस्तोसुकै रमिता देखाउन पनि स्वतन्त्र रहँदै आएका छन् । राजनीतिमा नयाँ–नयाँ आएका रवि लामिछाने त्यसको अपवाद हुन सक्दैनथे । हुन सक्ने कुरा पनि थिएन । उनले चुनाव जित्नेबित्तिकै नेपाली नागरिकताका वैधानिक र कानुनी पक्षमा उनको स्वतः विजय हुने कुरै थिएन । यो कुरा रविले नबुझेका होइनन् । बुझेर पनि बुझ पचाएका हुन् । नेपालको कमजोर प्रशासनलाई हाटहुट पारेर तर्साउने उनको दाउ सबैले बुझेका थिए । रविको नागरिकतामाथि प्रश्न उठाएर निर्वाचन आयोगमा परेको उजुरीमाथि सुनुवाइ नै भएन । निर्वाचन आयोग आफैं नै रविका विरुद्धको उजुरी दबाउन चाहन्थ्यो । किनभने, आयोगका पदाधिकारीले यस्तै राजनीतिक निर्देशन पाएका थिए । रविले चुनाव जिते । तर, यो चुनाव नै उनको राजनीतिक विफलताको प्रारम्भ बन्यो । उनले त्यागेको नेपाली नागरिकता नै उनका लागि अभिशाप बन्यो ।

रविले परम्परागत समाजमा विद्यमान निहित सत्यलाई आत्मसात् गर्न सकेका भए दूरगामी हिसाबले उनकै भलो हुने थियो । तर, रविले अलिकति पनि आत्मसंयम देखाउन सकेनन् । टेलिभिजनको पर्दामा सरकार र सरकारका सेवाप्रदायक संस्था, व्यापारी, उद्योगपति र व्यवसायीहरूका विरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिएर वाहवाही लुट्ने बानी परेका रविले स्वतन्त्रताको यो खुला वातावरणमा आत्मरागले परिपूर्ण रमिता देखाउनु स्वाभाविक थिएन । स्नानागारमा सबै नांगा हुन्छन् । स्नानागारमा छिरेर ‘यी हेर, मैले लँगौटी लगाएको छु’ भन्नुको कुनै अर्थ हुँदैन ।

रवि लामिछानेको आलापले के संकेत गर्दछ भने, जसरी नेपाली राजनीतिका अधिकांश पात्रले राजनीतिलाई धन्दा बनाएका छन् त्यसरी नै उनका लागि पनि यो धन्दा हो । रविले यो धन्दामा टिक्न चाहेका थिए । तर, उनको आफ्नै बुद्धिले उनका लागि यो उपयोगी रहेन ।

रवि लामिछानेको यो विलाप, कुनै पनि अवस्थामा, अस्वाभाविक थिएन । निकै सोचविचारका साथ नेपालको राजनीतिमा सक्रिय हुने निर्णय लिएका थिए रविले । नेपालको राजनीति सजिलो छ । जनता अशिक्षित छन् भने नेता अपठित । मूल्य, मान्यता र आदर्शको बाटो बन्द भइसकेको छ । यति बेला नेपाली माटो राजनीतिबाहेक अरू कुनै पनि पेसा र व्यवसायका लागि मलिलो छैन ।

रवि लामिछानेको तीक्ष्ण बुद्धिले पहिल्याएको राजनीतिको बाटो यतिखेर अवरुद्ध भएको छ । आगामी दिनहरूमा नेपाली राजनीतिको बाटो रविका लागि कति सुगम बन्छ ? कसैले भन्न सक्दैन । नेपालको राजनीति लोकतान्त्रिक गणतन्त्रको सहज यात्रामा छैन । जुन दिनदेखि लोकतान्त्रिक गणतन्त्रको यात्रा सुरु भयो, त्यही दिनदेखि यसमा व्यवधानहरू आउन थाले । गिरिजाप्रसाद कोइराला र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत् शान्ति सम्झौतामार्फत उद्घोष गरेका सपनाहरू झन्डैझन्डै दुःस्वप्न साबित भइसकेका छन् । हामीसँग पद्धति छ, विधि छैन । मूल्य र मान्यता असहज छन् । देश ‘परिहा’ (अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कारमा पर्ने, हेपिने, छिःछिः–दूरदूर गरिने) बन्ने खतरा बढ्दो छ ।

रवि लामिछाने आफूले आफ्नो विरासतका रूपमा खडा गरेको राजनीतिको दरबार काँचको महलजस्तै गर्ल्यामगुर्लुम ढलेकामा आहत भए । उनी नेता थिएनन् । अभिनेता पक्कै थिए । उनले स्वतन्त्र पार्टीको नाममा घण्टी चिह्न लिएर चुनाव लडेर, जितेर आएका आफ्ना अनुयायी कार्यकर्तालाई माओवादी–एमाले गठबन्धन सरकारमा मन्त्री बनाए । तर, आफू उपप्रधानमन्त्री तथा गृहमन्त्री नरहेपछि सबैलाई मन्त्री पदबाट हटाइदिए । हुन पनि, जब आफ्ना प्रिय नेता नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेनन् भने अरू मन्त्रीहरू कसरी कुर्सीमा बस्ने ? स्वामीभक्तिका अगाडि स्वाभिमानको के औकात !

रवि र उनका अनुयायीहरूले देशमा बढ्दो गरिबी देखेर चिन्ता व्यक्त गर्नु अस्वाभाविक होइन । देशको अवस्थाप्रति चिन्ता र देशवासीको रुग्ण अवस्थाप्रति करुणा भावले देशभक्तिको भाव बलियो बनाउँछ । तर, रवि र उनका अनुयायी नेपाली जनशक्तिको वैदेशिक रोजगारीप्रति बढ्दो आकर्षण देखेर क्षुब्ध हुन्छन् । यस्तो खोक्रो क्षोभ र भावुक आक्रोशको कुनै अर्थ छैन । देशमा काम नपाएपछि कामको खोजमा मुलुक–मुलुक भौंतारिने नेपाली मात्र होइनन् । रविजस्तो झन्डै आधा जीवन अमेरिकामा बिताएका व्यक्तित्वलाई यो कुराको राम्रो ज्ञान होला कि अमेरिकामा काम गर्ने फिलिपिनीहरू फिलिपिन्सको अर्थतन्त्रका मुख्य स्रोत हुन् ।

इतिहासको प्रारम्भदेखि नै केन्द्रीकृत राज्य व्यवस्थामा चलेको नेपाली समाजले संघीय पद्धतिलाई भर्खर समातेको छ । तर, राजनीतिक दलका कार्यकर्ताहरूको विग्रहकारी स्वभाव, नेताहरूको मनोमानीपूर्ण व्यवहार र सञ्चारमाध्यममा लगाइएको लगामका कारण जनताका आवाज, अभिव्यक्ति र धारणाहरूको उपेक्षा हुने गरेको छ । सातै प्रदेशका जनताको भावधारालाई राष्ट्रिय भावधाराका रूपमा रूपान्तरित नगरेसम्म राष्ट्र निर्माणका प्रक्रियाहरू अधुरा रहन्छन् । यो कुरामा राजनीतिक दलहरूको ध्यान जानुपर्ने हो । तर, न त नयाँ दल, न पुराना दल, कसैको पनि यो कुरामा चाख देखिँदैन ।

रवि लामिछानेको आलापपछि उनको राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसद्मा निर्वाचित सदस्यहरूले संसद् सदस्यका रूपमा रहिरहनुको कुनै नैतिक आधार छैन । कुनै बेला जर्मनीमा नाजीवादका जन्मदाता ‘हिटलरको जय होस्’ को नारा लगाइन्थ्यो र उनको हरेक आदेशको पालना गर्न बाध्य पारिन्थ्यो जनतालाई । त्यही कुरा नेपालमा रविले लागू गरेका छन् । उनले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको सुविधाजनक राजनीतिका लागि सत्ता गठबन्धनमा हाजिरी दिएका छन् भने मन्त्री बनेका आफ्ना पार्टीका सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डबाट अलग्याएका छन् । के यो लोकतान्त्रिक गणतन्त्रको भद्दा मजाक होइन ?

(कान्तिपुरमा प्रकाशित : माघ २४, २०७९)